धरान : पत्रकार तथा गीतकार रमेशचन्द्र अधिकारीको रचनामा ‘देउसी भैलो खेल्ने मेलो यसपालि छैन’ बोलको तिहार विशेष गीति भिडियो दीपावलीको अवसरमा शनिवार साँझ सार्वजनिक गरिएको छ ।

वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीको सङ्गीत रहेको सो गीतमा विजयनारायण मानन्धर, प्रवलद्विप विश्वास र अदिति अधिकारीले स्वर दिएका छन् । गीतमा कोरोना भाइरसको महामारीमा देउसी भैलो तथा नाचगान रहित तिहार मनाउने परिस्थितिको भाव समेटिएको छ ।

सो गीत अग्रज लोक गायक एलपी जोशीको उपस्थितिमा सङ्गीतकार रायमाझी, रचनाकार अधिकारी र गायकहरू सहितले स्ट्रीययार्ड प्रविधि मार्फत लोकार्पण गरिएको हो ।

जस्तो सुकै परिस्थितिमा पनि मानिसले जोगिएर आफ्ना सृजना पस्कने र चाडपर्व मनाउनु परेको अग्रज लोक गायक जोशीले बताए । परम्परागत देउसी भैलो गीत प्रशस्तै रहे पनि विषम परिस्थितिको परिवेशमा पहिलो पटक गीत सार्वजनिक भएको सङ्गीतकार रायमाझीले बताए ।

कोरोना भाइरसको कारण सावधानीपूर्वक चाडपर्व मनाउनु पर्ने भएकोले सोही भावमा गीत जन्मिएको गीतकार अधिकारीको तर्क छ । गीत फेसबुक र युट्युब मार्फत शेयर गरिने जनाइएको छ ।