इटहरी : इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरीको आइसोलेसनमा सामूहिक भाइटिका लगाइएको छ ।

आइसोलेसनमा रहेका ६ जना सङ्क्रमितहरूलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहेकी एक जना संक्रमित महिलाले आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितहरूलाई टीका लगाइदिएका थिए ।

११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरूलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् । टीका,माला,सेल रोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन इटहरी आइसोलेसनमा पुगेकी थिइन् ।

सङ्क्रमितहरूले बर्षदिनको चाडबाडमा आइसोलेसनमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् । स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भने “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लगाएर अव उहाँले भाइ बनाउनुभयो,अव म दिदी भन्छु ”यस्तो अवस्थामा पनि टीका लगाइदिनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद दिएको उनले बताए ।

चाडबाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरूलाई टीका लगाइदिँदा उहाँहरूले आँखाभरि आँसु पारेर हर्ष व्यक्त गरेको उपमेयर गौतमले बताइन् । बर्षदिनको चाडबाडका वेला संक्रमित भएर घर परिवार भन्दा टाढा बस्नुपर्दा र उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताइन् । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामूहिक टिका लगाइएको थियो ।