धरान : नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्रीले मङ्सिर ५ गते शुक्रवार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्रीले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने बताइएको छ ।

यसैबिच नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला फेरि एक पटक प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेतासँग परामर्श तीव्र पारेका छन् ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई आफू निकट ल्याउने प्रयास असफल भएपछि ओलीले पूर्वमाओवादी नेताहरूसँग निरन्तर छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।