इटहरी : सार्वजनिक शौचालय भन्ने बित्तिकै जो कोहीलाई लाग्न सक्छ फोहोर दुर्गन्ध उफ् !..  तर मोरङको सुन्दरहरैचामा निमार्ण भएका सार्वजनिक शौचालय कुनै स्टार होटलको भन्दा कम सफा र सुविधा सम्पन्न छैनन् । 

पूर्व-पश्चिम राजमार्ग अन्तरगत सलकपुर चोकमै छ सार्वजनिक शौचालय । चिटिक्क परेको भवनमा सार्वजनिक शौचालय तथा पुस्तकालय लेखिएको बोर्ड राखिएको छ । सो भवनको एक सटरमा चिया पसलले चिया बनाइरहेका छन् । अर्को एक सटरको सैलुनमा कपाल काट्ने ग्राहकको भिड लागेको छ । बिचको कपडा पसलमा पनि त्यस्तै भिड देखिन्छ । 

Sauchalaya-6

त्यही बिचको प्यासेजबाट भित्र महिला र पुरुषका लागी छुट्टाछुट्टै शौचालयहरू छन् । शौच गर्ने मात्र हैन नुहाउने र आराम गर्ने ठाउँ पनि व्यवस्थित छ । आराम गरुन्जेल मोबाइल वा ल्यापटप चार्ज गर्ने मिल्ने गरी व्यवस्था मिलाइएको छ । सफा र चिटिक्क देखिने शौचालय कुनै व्यवस्थित होटेलको भन्दा कम छैन ।

Sauchalaya-5

 सोही भवनको पहिलो तल्लामा भव्य पुस्तकालय छ । पढ्न र छलफल गर्न मिल्ने गरी पुस्तकालय कक्ष तयार पारिएको छ । पुस्तकालय को रेखदेखको लागी कर्मचारी समेत खटाइएको छ । पछि आधुनिक पुस्तकालय बनाउने तयारी सहित व्यवस्थित गरिएको छ । २० वटा कम्प्युटर सहित इन्टरनेट राख्ने र कम शुल्क लिएर पढ्ने बानीको विकास गराउने उद्देश्य राखिएको छ । 

Sauchalaya-4

भवनको दोस्रो तल्लामा एक मरिक परिवारको लागी बसोबासको व्यवस्था मिलाइएको छ । भवन तथा शौचालय सरसफाइको जिम्मा पाएको सो परिवारले दिनको ३ पटक शौचालय सफाइ गर्ने काम गर्छन् । निश्चित पारिश्रमिक दिएर खाने बस्ने व्यवस्था शौचालय व्यवस्थापन समितिले गरेको छ । अगाडीका सटरको भाडाबाट सो परिवार तथा पुस्तकालयका कर्मचारीको खर्च जुटाउने गरिएको छ ।

सुन्दरहरैचा नगरपालिकामा पुस्तकालय सहितका नमुना शौचालय निमार्ण कार्य प्राथमिकताका साथ अगाडी बढिरहेको छ । केही दिन अगाडी मात्र सलकपुर चोक र हरैचा बजारमा शौचालय उद्घाटन भइसकेका छन् । पुस्तकालयले शौचालयको थप आकर्षण बढाएको छ । 

Sauchalaya-2

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैचा नगरभित्र पर्ने बलिया, गछीया, गोठगाउँ, सलकपुर, बिराटचौक र खोर्सानेका साथै मिर्गौलीया र हरैचा बजारमा शौचालय निमार्ण गर्ने अभियान सुरु भएको छ । सोही अभियान अन्तर्गत दुई स्थानमा भर्खरै देखी शौचालय र पुस्तकालय सञ्चालनमा आएका छन् ।

२ वर्ष अघि व्यवसायी भोला प्रसाद दुलालको संयोजकत्वका सुरु भएको शौचालय निमार्ण महाअभियानले निमार्ण कार्य सुरु गरेको हो । स्थानीय स्तरमै उपभोक्ता समिति गठन गरेर अभियानलाई पूर्णता दिने काम भइरहेको छ । उद्योगी व्यापारी तथा स्थानीयको ५० प्रतिशत र सुन्दरहरैचा नगरपालिकाको ५० प्रतिशत लगानीमा शौचालय तथा पुस्तकालय निमार्ण भइरहेका छन् ।

विकास निमार्णको नाममा छुट्टिएका बजेटको दुई प्रतिशत रकम छुट्टाइएर शौचालय निर्माण थालिएको सुन्दर हरैचाका मेयर शिवप्रसाद ढकालले बताए । “प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा थियो तर कुनै सहयोगको गुन्जायस देखिएन ।, उनले भने, त्यसैले नगरपालिकाले प्राथमिकताको साथ यस अभियानलाई अगाडी बढाइरहेको छ । अबको दुई वर्ष भित्रमा ८ वटै स्थानमा शौचालय निमार्ण भइसक्छ ।”

आफूले अहिलेसम्म नेपालका कतै पनि यस्ता सार्वजनिक शौचालय नदेखेका उनको भनाई छ । यो नेपालमै नमुना शौचालय भएको उनको दाबी छ । 

Sauchalaya-3