धरान : रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ । कम्पनीको तेस्रो वार्षिक उत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुँदा बिरामीले अकालमै जीवन बिताउन परिरहेको तथा उपचारमा गम्भीर समस्या उत्पन्न भइरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए । कार्यक्रममा ४० पिन्ट रगत सङ्कलन भएको र कम तौल तथा ब्लड प्रेसरका कारण १६ जना रक्तदान गर्नबाट वञ्चित भएका थिए ।

कार्यक्रममा हालसम्म ४१ औँ पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६औँ पटक रक्तदान गर्ने बेलबारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मान समेत गरिएको थियो ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारी जस्तो प्रतिकुल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदान जस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरी सामाजिक दायित्व वहन गरेको भन्दै उच्च प्रशंसा र हार्दिक धन्यवाद एवम् आभार व्यक्त गरे ।

वी.पी. प्रतिष्ठानमा अति गम्भीर अवस्थामा उपचार गराइरहेकी ताप्लेजुङकी प्रिया राईले रक्तदानस्थल वाटै ३ पिन्ट रगत प्राप्त गरेकी थिइन् ।

शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाली काँग्रेसका जिल्ला सदस्य अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नन्दराज राई, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाईँ, नगर सचिव श्याम पोखरेल, नगर सहसचिव पञ्चकला राई योञ्जन, वडा सभापतिद्धय उत्तम राई र जितेन्द्र राई, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ, स्ववियु सचिव दोर्ची शेर्पा, नेपाल महिला संघकी क्षेत्रीय सचिव निर्मला नेपाल, महिला सशक्तीकरणका अध्यक्ष अञ्जना राई, वडा सचिव श्रीप्रसाद श्रेष्ठ, जी.पी.फाउन्डेसन सुनसरीका सदस्य राजु साह लगायतको उपस्थिति रहेको थियो ।