धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आजदेखि रुटिन ओटी शल्यक्रिया सेवा सुचारु गर्ने भनेको भए पनि पुर्णरुपमा सुचारु हुन नसकेको जनाइएको छ ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद बरालले सूचना जारी गर्दै ओटी युजर्स कमिटीले मङ्सिर ७ गते आज देखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको थियो । तर प्राविधिक कारणले पुर्णरुपमा रुटिन ओटी शल्यक्रिया सुरु हुन नसकेको बताइएको छ ।

पुर्णरुपमा रुटिन ओटी सञ्चालनमा ल्याउन ७ वटा ओटी सञ्चालन हुनुपर्ने हुन्छ तर आज सम्म आइपुग्दा तीन वटा मात्रै ओटी सञ्चालन गर्न सकिएकोले पुर्णरुपमा रुटिन ओटी सञ्चालन नभएको डा. बरालले बताए ।

प्रतिष्ठानको अरू ओटीका केही सामाग्रीहरू कोभिड अस्पतालमा प्रयोग भइरहेको र केही बिग्रिएकोले पुर्णरुपमा रुटिन ओटी सञ्चालन गर्न नसकिएको डा. बरालले बताए । उनका अनुसार बाँकी ओटीहरु पनि चाडै सञ्चालनमा आउने र पुर्णरुपमा प्रतिष्ठानका रुटिन ओटीहरु सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा भइरहेको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इमरजेन्सी र सेमी इमरजेन्सी प्रकृतिका अप्रेसनहरू मात्र गरिरहेको थियो । प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सहरूमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण भएपछि जनशक्ति अभाव भएको थियो । जसले गर्दा एक महिनादेखि रुटिन ओटी सेवा बन्द थियो ।

पछिल्लो समय प्रतिष्ठानले ७५ जना नयाँ स्टाफ नर्सहरू नियुक्ति गरेकोले ओटी सेवा सुचारु गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानमा इमरजेन्सी र सेमी इमरजेन्सी ओटी बाहेक ७ वटा रुटिन ओटी रहेको छ । एक महिनादेखि भने दुई वटा रुटिन ओटी मात्र सञ्चालनमा रहेको थियो । आज देखि थप एक वटा ओटी थपिएर तीन वटा सञ्चालनमा आएका छन् ।