धरान : मोरङको मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउसो सवा ३ बजे पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो ।

यसरी हतियार सहित पक्राउ परेका श्रेष्ठ माथि हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।