विराटनगर : प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिलेटर, ६ हजार थान सर्किजल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरी १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गरेका छन् ।

रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले सङ्घीय, प्रदेश र स्थानीय सरकार मात्रै नभएर कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताए । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना सङ्क्रमण जोखिममा अग्रपङ्क्तिमा रहेर कार्य गर्ने व्यक्तिहरूलाई वितरण गर्ने गरिएको उनले बताए । राज्यमन्त्री गजमेरले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रयोग गरिने गरिएको बताइन् ।

नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना सङ्क्रमण जोखिममा अग्रपङ्क्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी र बिरामीको सघन उपचारमा मद्दत पुर्‍याउने काम गरिएको बताए ।

कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोना महामारीको अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुबोधकुमार सिंहले जानकारी दिए ।