धरान : लोक गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आज अस्पतालमै पुगेर भेटेका छन् ।

गन्धर्व अस्पतालमा भर्ना भएको आज ३ दिन भएको छ । धरानका मेयर तिलक राईले गन्धर्वको स्वास्थ्य अवस्था बुझ्दै राज्यले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ट्रापिकल वार्डमा उपचाररत गन्धर्वलाई मेयर राईले यसअघि फोन सम्पर्कबाट स्वास्थ्य लाभको कामना गरेका थिए भने आज बिहान १० बजे भेट्न अस्पताल पुगेका हुन ।

स्वास्थ्य अवस्था बुझ्दै गायक गन्धर्वलाई मेयर राईले भने “कलाकार देशका गहना मात्र हैनन् पुस्ता परिवर्तनका संवाहक भएको बताउँदै मेयर राईले हामीलाई गन्धर्व धरानमा भएको जानकारी थिएन । अव धरान उपमहानगरपालिकाले उपचारमा गन्धर्वलाई पूर्ण सहयोग गर्नेछ ।”

सुरेश गन्धर्व नगरको मात्र कलाकार हैन राज्यको पनि हो । त्यसैले उहाँको बारेमा प्रदेश सरकारलाई पनि जानकारी गराउँछौ राज्यबाट नै उपचारको लागी पहल गछौं ।

धरान उपमहानगरपालिकाको तर्फबाट खाद्यान्न सहयोग समेत गन्धर्वका परिवारलाई गरिएको छ । यसअघि अस्पतालमा भर्ना भएको दिन नै धरानकी उप प्रमुख मञ्जु भण्डारी सुवेदी पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

लामो समय देखि कर्मथलो धरानलाई बनाएका सुरेश गन्धर्व यति बेला धरान ८ बरगाछीमा कोठा भाँडामा बस्छन् । उनलाई पछिल्लो समय मुटु रोग, युरिक एसिड (बाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूले ग्रस्त भएका छन् ।

एउटा लोक भाका र बाजाका सर्जकको स्वास्थ्य उपचारमा यसरी सबैले साथ सहयोग गरे र भयो भने अवश्य पनि यस्ता सर्जकलाई बचाउन सकिने रंगभूमी एकेडेमीका अध्यक्ष विष्णु मोक्तानले बताए । गन्धर्वको उपचारमा डा.सञ्जीव शर्माको टोली संलग्न रहेको छ ।