इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर दुईको तामाङ चौकको एकै घरका चार जना छोराछोरी अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस वर्ष पनि एक लाख रुपियाँ प्रदान गरेको छ ।

इटहरी-२ स्थित लक्ष्मण तामाङको घरमै पुगेर उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गरेका छन् । तामाङ परिवारका १५ देखि ३० वर्ष सम्मका दुई छोरा र दुई छोरी कोहीपनि आँखा देख्न सक्दैनन् ।

कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिडन त परै जाओस् बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलिअलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

गत वर्ष पनि चार जना अपाङ्गता भएका छोराछोरीको भरणपोषणका लागि इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फबाट एक लाख रुपियाँको चेक घरैमा गएर प्रदान गरेका थिए ।

यस अघि गत बर्ष नै उपप्रमुख गौतमले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा सन्दीपलाई पूर्ण अपाङ्गता भएको रातो कार्ड घरमै पुगेर वितरण गरेकि थिइन। रातो कार्ड प्राप्त गरे पनि उनीहरूले मासिक प्रति व्यक्ति तीन हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरूका बुवा लक्ष्मण तामाङले खुसी व्यक्त गरे । उनले घर आँगनमै सरकार आएको महसुस भएको बताए । लक्ष्मण तामाङका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठिक थिइन ।

त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो, केही समय पछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन । अरू दुई जनालाई पनि ठ्याक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिँडडुल गर्न भने सक्छन् ।

यसैबिच लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्वारा माया घर इटहरीमा रहेका ४७ जनालाई न्यानो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले माया घर इटहरीमा आश्रय लिएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरे ।

Sahayog