इटहरी : बढ्दो जनघनत्व र स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै इटहरीमा ५ सय बेडको अस्पताल बन्ने भएको छ ।

शुक्रवार इटहरीका सरोकारवाला निकायहरूको छलफलबाट अस्पताल निर्माण कार्य अगाडि बढाउने सहमति भएको हो ।

श्री कृष्ण प्रणामी प्रतिष्ठान नेपालका उपाध्यक्ष हेम घिमिरेले ५ सय बेडको अस्पताल निर्माणको प्रस्ताव अगाडि सारेका हुन । घिमिरेको नेतृत्वमा श्री प्राणनाथ मल्टी स्पेसियालिटि हस्पिटल तथा रिसर्च सेन्टर (प्राणनाथ हस्पिटल) बनाउने सम्पूर्ण सरोकारवालाले सहमति जनाएका छन् ।

सरकारी अस्पताल सरह नै सेवा शुल्क रहने तथा उच्चस्तरीय सेवा उपलब्ध गराइने प्रस्तावमा उल्लेख गरिएको छ ।

Prananath-hospital-Itahari- 1

अस्पताल निर्माणको प्रस्ताव आएसँगै मेयर द्वारिकलाल चौधरीले त्यसको स्वागत गरेका हुन । सोही प्रस्तावको आधारमा मेयर चौधरीले अस्पताल निर्माणको लागि बृहत् छलफल कार्यक्रमको आयोजना गरेका हुन ।

केही समय अगाडि इटहरी नगर कार्यपालिका बैठकबाट इटहरी वाड न.१०, ११ मा पर्ने १० बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि उक्त जग्गा प्रणामी समाजद्वारा अनुपयुक्त भएको जानकारी पश्चात् थप छलफलका लागि यो भेलाको आयोजना गरिएको हो।

सो छलफलबाट उपयुक्त स्थान छनोट र जग्गा खोजीको लागि मेयर चौधरीको संयोजकत्व मा ११ सदस्यीय समिति गठन गरी अघि बढ्ने निर्णय भएको छ ।

प्रस्तावक घिमिरेले इटहरीमा सुविधा सम्पन्न हस्पिटल बन्ने कुरामा विश्वस्त रहन आग्रह गर्दै सबैको सहयोगको अपेक्षा गर्दै इटहरी उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।