विराटनगर : प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्बुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाईमा ११, बिर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरङको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्बुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ पुगेको छ ।

प्रदेश १ मा आज ४९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९५ हजार ३३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार ८९९ पुगेको छ ।