धरान : धरान १७ बिजुवा मार्ग निवासी एकल महिला जानुका माया विश्वकर्माको घर निर्माणका लागी १ लाख नगद जम्मा भएको छ ।

यसअघि धरानका पत्रकारहरूले देउसी खेली सङ्कलन गरेको रकम, मजदुर सङ्गठन तथा विभिन्न दाताहरूबाट ८२ हजार नगद सङ्कलन गरी विकको नाममा जम्मा गरिदिएको थियो ।

त्यसैमा धरानमा पत्रकारहरूले अघिल्लो वर्ष तिहारका बेला देउसी खेलेर जम्मा गरेको १८ हजार आज थप गरिदिए पछि कुल रकम १ लाख पुगेको घर निर्माण अभियन्ता अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले जानकारी गराए ।

नगद हस्तान्तरण गर्न धरान १७ का अध्यक्ष मनोज भट्टराई, युवा नेता दीपक बनेपाली, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, पत्रकार रोहित राई लगायतले विकको घरमा नै पुगेर नगद प्रदान गरेका थिए ।

नगद हस्तान्तरण गर्दै धरान १७ का अध्यक्ष भट्टराईले विकको घरको नक्सा तयार भइसकेको बताउँदै भोलि सामान ल्याएर पर्सि सोमबारबाट घर निर्माणको थालनी गर्ने बताए । यसअघि धरान १७ का पत्रिका बेच्ने हकर ज्ञानबहादुर माझीको घर निर्माणका अगुवा जनकऋषिलाई विकको समेत घर निर्माणका लागी कुरा राखेको थिए ।

उनले भने, त्यसपछि पत्रकारको देउसीमा सङ्कलित रकमबाट विकको घर निर्माणको अभियान थालनी भयो । विकको घरको नक्सा तयार छ, भोलि घर निर्माण सामग्री झार्नेछ र पर्सिबाट निर्माण थालनी गर्नेछ । यसअघि नै निर्माण थालनी गर्ने सोच बनाएको भए पनि बिचमा जनता आवासमा समेत विकको नाम परेकोले त्यसको पैसा पर्खिरहँदा ढिला भएको अध्यक्ष भट्टराईले बताए ।

जनता आवासको पैसा नआएकाले अब हामी आफैले घर निर्माण गर्नेछ । उनले भने, जनशक्तिका लागी हामी आफै खट्ने तयारी गरेका छा । एउटा मिस्त्री राख्ने र बिहान र दिउँसोको सिफ्ट गरी स्थानीय युवाहरूलाई नै जनशक्तिका रूपमा खटाउने छा । विकको घर निर्माणका लागी सहयोग गर्न इच्छुकहरूले सामाग्री, नगद वा श्रम जसरी पनि सहयोग गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।

एकल महिला विकको जग्गामा रहेको जीर्ण घरमा १८ वर्षीय छोरा र १५ वर्षीय छोरी साथमा बस्दै आएको छ । उनी भने घरमा नै सामान्य चटपटे बेचेर जीविकोपार्जन गर्दै आएकी छिन । विकको नाममा रहेको १० धुर जग्गामा घर निर्माण हुने भएको हो ।

विकको सहयोगका लागी लक्ष्मी बैङ्क धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान १७ बिजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिनेछ ।