धरान : धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि स्वास्थ्य प्रोटोकल पालना गरेर खुल्ने भनिए पनि फेरि केही दिन नखुल्ने भएको छ ।

शुक्रवार निजी तथा संस्थागत विद्यालय सञ्चालकहरूले आइतबार देखि प्रावि तहको कक्षा ४ र ५ र मावि तहको ८,९ र १० कक्षा सञ्चालन हुने बताएका थिए ।

तर शनिवार धरान उपमहानगरपालिकाका मेयर तिलक राई, शिक्षा महाशाखा, एन प्याव्सन, प्याव्सनका प्रतिनिधिहरू र एसिसि धरान लगायतको उपस्थितिमा कोरोना महामारी बिचमा विद्यालय सञ्चालन गर्दा सामुहिकरुपमा जबाफदेहिता हुने गरी निर्णय गरेर मात्रै विद्यालय नखोल्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

मेयर राईले भने अहिले पनि कोरोनाको जोखिम उस्तै छ । फेरि पनि जोखिम मोलेर विद्यालय खोल्यौ भने त्यसबाट आउन सक्ने जोखिमको जिम्मेवारी कसले लिने ? संस्थागत तथा निजी विद्यालयहरूले मात्रै लिने हो त ? स्थानीय सरकार पनि जिम्मेवार भएर सामूहिक जबाफदेहिता हुने गरी निर्णय गरेर मात्रै विद्यालय सञ्चालनमा ल्याउनुपर्छ ।

मेयर सावले सामूहिक जबाफदेहिताको कुरा गर्नुभयो हामी पनि सहमत भयौ र त्यही अनुसार धरान उपमहानगरपालिका, प्वाव्सन, एनप्वाब्सन र एसिसि धरान लगायतले सामूहिक जबाफदेहिता हुने गरी निर्णय गरेर केही दिन भित्रमा विद्यालय सञ्चालन गर्नेछौ एसिसि धरानका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

कोरोना महामारीका बिच कसरी विद्यालय सञ्चालन गर्दा राम्रो हुन्छ ? यसबारेमा धरान उपमहानगरपालिकाले मङ्सिर १८ गते सम्मको म्याद दिएर प्रस्ताव पत्रको माग गरेको थियो । अहिले सम्म केही विद्यालयहरूले नगरपालिकामा प्रस्ताव पत्र बुझाएका छन् भने अझै पनि केहीले बुझाउन बाँकी नै रहेको छ ।

त्यसैले अहिले विद्यालय खोल्न हतार नगर्न मेयर राईले विद्यालय सञ्चालकहरूलाई आग्रह गरे । यस्तो विषम परिस्थितिमा कुनै पनि निर्णय लिँदा गम्भीर भएर लिनुपर्छ । भोलि केही भइदियो भने कसले जिम्मेवारी लिने रु त्यसैले सामूहिक जबाफदेहिता हुने गरी निर्णय गरेर चाडै विद्यालय खुल्ने मेयर राईले बताए ।