धरान : लिम्बुवान समाज युकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिंह मेन्याङ्वो चयन भएका छन् ।

समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति निकट मानिने समाजको शुक्रवार भएको भेलामा निवर्तमान अध्यक्ष सुवर्ण इधिङ्गोले मेन्याङ्वोलाई पदीय जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

मेन्याङ्वो यसअघि सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष रहिसकेका छन् । उनी ब्रिटिस गोर्खा भेट्रान एसोसिएनका वरिष्ठ उपसभापति, मेन्याङ्वो कल्याणकारी संस्था युकेका अध्यक्ष, युके ब्याडमिन्टन एसोसिएसनका महासचिव, युमा साम्यो महासभा युकेका उपाध्यक्ष समेत हुन् । त्यसबाहेकका दर्जन बढी सामाजिक अभियानहरूमा सक्रिय छन् ।

पदीय हस्तान्तरण कार्यक्रममा उपस्थित भएर नवनियुक्त अध्यक्षलाई शपथ खुवाउँदै जसपा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले निर्णायक लिम्बुवान आन्दोलनमा प्रवासमा रहने समर्थकहरूको पनि महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

‘प्रवासमा रहेका नेपाली र लिम्बुवानवासी समर्थकहरूको नैतिक साथले धेरै महत्व राख्नेछ,’ उनले भने । उनले महामारी नियन्त्रण हुने बित्तिकै नेपालमा बृहत् लिम्बुवानी सभा आयोजना गर्ने जानकारी समेत दिए । यसै गरी, समितिका सल्लाहकार लाहाङ चेम्जोङले लिम्बुवान भूगोल सभ्यताको आन्दोलन पनि भएको जिकिर गर्दै संसारभर छरिएर रहेका लिम्बुवानवासीहरूको सहयोगले रणनीतिक हिसाबले भूमिका खेल्नुपर्ने कुरा आँैल्याए ।

उनले नेपालका हरेक ठुला राजनीतिक आन्दोलनहरूमा प्रवासले कूटनीतिक रूपमा पहल गरेको उदाहरण दिए । कार्यक्रममा सल्लाहकार नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, युमा लिम्बु, मान तबेबुङ, अमित थेवे लगायतले शुभकामना दिएका थिए । कार्यक्रम समाजका सचिव छन्त वनेमले सञ्चालन गरेका थिए । नवनियुक्त अध्यक्ष मेन्याङ्वोले निकट भविष्यमै समितिलाई अधिवेशनमार्फत पूर्णता दिने बताए ।