धरान : धरान सङ्गीत प्रतिष्ठानले लोक गायक सुरेश गन्धर्वलाई खाद्यान्न सामग्री सहित आर्थिक सहयोग गरेको छ ।

स्वास्थ्यमा सुधार आएपछि केही दिन अघि मात्र अस्पतालबाट डिस्चार्ज भएका लोक गायक गन्धर्वलाई धरान सङ्गीत प्रतिष्ठानले उनकै निवासमा पुगेर खाद्यान्न सामग्री सहित आर्थिक सहयोग गरेको हो ।

लोक गायक गन्धर्वको निवासमा पुगेर खाद्यान्न सामाग्री सहित नगद ३४ हजार ५सय रुपैयाँ आर्थिक सहयोग गरिएको धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिए । आर्थिक सङ्कटमा परेका गन्धर्वलाई थप उपचारका लागि सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनले बताए ।

उक्त रकम धरानका कलाकारहरूबाट जुटाएर सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । धरानलाई लामो समय देखि कर्मथलो बनाएका लोक गायक सुरेश गन्धर्व यति बेला धरान ८ स्थित बरगाछीमा कोठा भाँडामा बस्दै आएका छन् ।

यसै गरी लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैङ्कले पनि ५० हजार आर्थिक सहयोग गरेको छ ।
लोक गायक गन्धर्वको धरान स्थित डेरामा पुगेर बैङ्कले ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

Suresh-Gandharba 2