विराटनगर : सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी २ वर्ष भित्रमा सञ्चालनमा आउने भएको छ ।

३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका छन् । पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको बताए ।

चालु आर्थिक वर्षमा पुलहरूको काम सम्पन्न गर्ने र २ वर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डेले जानकारी गराए । उनले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेन्डरको काम भई सकेको बताए ।

उनले भने,‘ रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ ।

हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेन्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराए ।

सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ वर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताए । हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले बताए । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उनले बताए ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक वर्ष भित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए ।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनले बताए । सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरूको निर्माण भइरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराएका थिए ।