धरान : शिङ्साबा भोटिया प्रदेश १ मात्र नभै धरानमा समेत अल्पसङ्ख्यक र अतिसिमान्तकृत भएकोले बजेट उपलब्ध गरिएको कुरा सांसद जयकुमार राईले बताएका छन् ।

सांसद जयकुमार राईलाई बजेट विनियोजन गरिदिएको भन्दै सधन्यवाद ज्ञापन गर्दै खादा लगाई स्वागत गरेका थिए । सोही क्रममा सांसद राईले मतदाताको सङ्ख्या हेरेर होइन राज्यको नीति अनुसार पछाडि परेको समुदायको लागि भनेर बजेट विनियोजन गरेको बताए ।

उनले धेरै वर्ष अगाडिदेखि यस समुदायले बजेट माग गर्दै आएको उल्लेख गर्दै यो वर्ष सांसद क्षेत्र विकास कोषबाट १० लाख बजेट विनियोजन भएको बताए ।

यसअघि मुस्लिम समुदायको कबरस्थान निर्माण गर्नको लागि भनेर १० लाख विनियोजन गरेकोमा उनीहरूले २५ लाख बराबरको काम गरेको पनि उनले उल्लेख गरे । सानो बजेट भएकोले सबैलाई एकै पटक सम्बोधन गर्न नसकेको भन्दै क्रमिकरुपमा आगामी दिनमा बजेट विनियोजन हुने पनि बताए ।

शिङ्साबा भोटिया समुदायको सामाजिक आर्थिक अवस्था बारे आफूलाई धेरै जनकार भएको भन्दै पछाडि परेको समुदायको हितमा काम गर्दा उनीहरूको मतदाता हेर्न जायज नभएको बताए ।

चालू आर्थिक वर्षको सांसद क्षेत्र विकास कोषबाट यस समुदायको लागि भनेर १० लाख विनियोजन भएको छ ।