धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने कार्यक्रममा १ सय ४९ वटा एबस्ट्राक (अनुसन्धानका सारांश) प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कोभिडको कारण यस वर्ष पहिलो पटक डिजिटल माध्यमबाट कार्यक्रम हुने कार्यक्रमका कन्भेनर प्याथोलोजि विभागका प्रमुख प्रा. डा. परीचा उपाध्यायले जानकारी गराइन।

कार्यक्रमको तयारीका लागी सबै पदाधिकारीहरूबाट पूर्ण सहयोग मिलेको बताउँदै अघिल्ला वर्षहरूमा जस्तै कार्यक्रमको सफलताको लागि लागिपरेको बताइन । विशेष कामको कारण कार्यक्रमको उद्घाटनमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी अनुपस्थित रहे पनि भर्चुअल माध्यमबाट सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रा. समि लामाले साइन्टिफिक पेपरका विषयमा जानकारी दिएकी थिइन । उनका अनुसार यस वर्ष १ सय ४९ वटा एबस्ट्राक प्राप्त भएको बताइन । कुल एबस्ट्राकमा पोखरा गण्डकी मेडिकल कलेजबाट एउटा र त्रिवी महाराजगन्ज नर्सिङ क्याम्पसबाट दुई वटा गरी ३ वटा प्रतिष्ठान बाहिरबाट प्राप्त भएको उनले जनाइन ।

यसमध्ये २९ वटा थिममा १ सय ३ वटा ओरिजिनल तथा ४६ वटा केस रिपोर्ट रहेको तीमध्ये १ सय ४ वटा ओरल र ४५ वटा पोस्टर प्रस्तुति रहने बताइन । कुल प्राप्त एबस्ट्राक मध्ये १ सय १० पुरस्कारको विधामा रहेको उनले जनाइन ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यवाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. गुरुप्रसाद खनालले यस वर्ष कार्यक्रम गर्न असम्भव जस्तै देखिएकोमा समेत कार्यक्रम गर्ने आँट गरेकोमा कन्भेनर उपाध्याय सँगै सबै टिमलाई धन्यवाद दिएका थिए ।

कोभिड महामारीका कारण अन्य वर्षहरू भन्दा यस वर्षको कार्यक्रम भिन्न र ऐतिहासिक हुने उनले बताए । ’प्रतिष्ठान सामाजिक उत्तरदायी स्वास्थ्यकर्मी उत्पादन, नयाँ अनुसन्धान तथा उचित स्वास्थ्य सेवा प्रदान गर्नका लागी स्थापित गरिएको संस्था हो ।’

उनले भने, ’कोभिडका बिच समेत यति धेरै एब्यास्ट्रयाक पाएकोले प्रतिष्ठान स्वास्थ्य सेवाको अनुसन्धान तथा उपचारमा उत्कृष्टता हासिल गर्ने तर्फ अगाडि बढेको बुझ्न सकिन्छ ।’ यस कार्यक्रमले प्रतिष्ठानमा सिकाइ कुनै पनि अवस्थामा नरोकिएको सन्देश दिएको शिक्षाध्यक्ष खनालले बताए ।

कोभिड महामारीका कारण अन्य वर्ष भन्दा केही ढिला आयोजना गर्न सफल भए पनि पनि २०२० मा नै कार्यक्रम सम्पन्न हुने भएकाले यो एउटा महत्त्वपूर्ण उपलब्धि रहेको प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी गराए ।

निरन्तर रूपमा कार्यक्रम आयोजना गरिएकोमा शैक्षिक विभागलाई धन्यवाद दिँदै कार्यक्रमले प्रतिष्ठानको पुरानो गरीमा तर्फ अगाडी बढाउने विश्वास लिएको बताए । अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साहले समेत कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नै प्रतिष्ठानका पदाधिकारीहरूले एबस्ट्राक पुस्तक सार्वजनिक समेत गरेका थिए ।

उद्घाटनका बेला प्रतिष्ठानका पलमनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख ओरेटर प्रा. डा. नरेन्द्र भट्ट ओरेटर रहेका थिए । भट्टले ब्रेथ, ब्रथलेसनेसः एन एक्सपोलरेटिभ जर्नी थ्रु साइन्स, साइलेन्स एण्ड सफरीङ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा आज जुमबाट पेपर प्रस्तुति हुने आयोजकले जनाएको छ ।