धरान : पशु क्वारेन्टाईनको सिफारिस नभएका ४७ वटा गाई गोरुलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ भन्सार छली गरेर अवैध रूपमा भारततर्फ लैजाँदै गरेका गाई गोरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

२९ वटा गाई, एउटा बाछी, १५ वटा गोरु र २ वटा बाछा गरी जम्मा ४७ वटा चौपायहरु पशु क्वारेन्टाईनको सिफारिस विना नै भारतर्फ तस्करी गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमवार दिउँसो १:३० बजे मोरङको धनपालथान गाउँपालिका वडा नं.१ गडेरीया चोकबाट गाई गोरु नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाई गोरुको पाँच लाख २१ हजार मूल्य बराबरका रहेका छन् ।

नियन्त्रणमा लिएका चौपायलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ ।