इटहरी : उपमहानगरपालिका गेट छेवैमा निर्माणाधीन शौचालय अहिले अलपत्र अवस्थामा छ । प्रदेश १ कै केन्द्र मानिएको र प्रदेशको राजधानी नै दाबी गर्ने उपमहानगरको मुख्य चौकमा नै एउटा सार्वजनिक शौचालय छैन ।

शौचालय नहुँदा बटुवा एवम् नगरमा आउने सेवाग्राही सास्ती खेप्न बाध्य छन् । नागरिक दबाबका बिच एक वर्ष अगाडी निर्माण सुरु भएको शौचालयको निर्माणको काम पछिल्लो समय रोकिएको हो । लकडाउनको कारण देखाउँदै रोकिएको काम पुनः सुचारु हुन सकेको छैन ।

इन्जिनियर जीवन घिमिरेका अनुसार गत आर्थिक वर्षमै बोलपत्र आह्वान गरेर काम सुरु भएको हो । लकडाउनको कारण काम रोकिएपछि ६ महिना म्याद थप गरिएको छ । अब ३ महिना भित्र निर्माण कार्य सक्ने गरी काम अगाडी बढाइने उनको भनाइ छ ।

इटहरीमा सार्वजनिक शौचालय नभएको भन्ने विषय अतिरञ्जित भएको उनको बुझाई छ । अहिले पनि ३ ठाउँमा सार्वजनिक शौचालय रहेको उनले बताए ।

२०७२ सालमा घुम्ती शौचालय सुरु गरेको इटहरीले केही समयमै सेवा बन्द गरेको थियो । नागरिक स्तरबाट सार्वजनिक शौचालयको माग तीव्र बन्न थालेपछि दलीय निर्वाचन तथा उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सार्वजनिक शौचालयलाई प्राथमिकता पाएको थियो ।

इटहरी उपमहानगरले सार्वजनिक शौचालय निर्माण गर्ने भनी अध्ययन समिति नै बनाएको थियो । शौचालय निर्माणको लागी जग्गा खोज्ने र सम्भाव्यता अध्ययन गर्ने भनी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा एक समिति बन्यो ।

२०७५ भदौ ९ गतेको कार्यपालिकाको बैठकमा उपमेयरको संयोजकत्वमा ७ जनाको समिति गठन भएको थियो । वडा नं ४,६ र ९ का वडाध्यक्षहरू क्रमशः चन्द्र प्रसाद भट्टराई, दीपक गौतम, भूपेन्द्र बराल साथै तत्कालीन शाखा अधिकृत विजय मगर, तत्कालीन वरिष्ठ इन्जिनियर अर्जुन दाहाल सदस्य रहेका थिए ।वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरी समितिको सदस्य सचिव थिए ।

जनता माविको प्राङ्गणमा शौचालय निर्माण गर्न सकिने समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर प्रतिवेदन तयार गर्दा सम्बन्धित विद्यालय सँग भने समन्वय हुन सकेन । सो समितिको प्रतिवेदनमा उल्लेख नभएको इटहरी उपमहानगरपालिकाको गेटमै रहेको खाली जग्गामा भने हाल शौचालय निर्माणाधीन अवस्थामा छ ।

८० लाख बजेटमा निर्माण सम्पन्न हुने अनुमान गरिएको उक्त शौचालय सामान्य शौचालय भन्दा धेरै स्मार्ट हुने बताइएको छ । सेन्सर प्रविधि व्यवस्थित गरिने शौचालय 'नमुना शौचालय' हुने इन्जिनियर घिमिरे बताउँछन् । ढिला भए पनि राम्रो निर्माण हुनेमा विश्वस्त हुने उनले आग्रह गरेका छन् ।

छिमेकी नगरपालिका सुन्दरहरैचामा हरेक चोकमा नमुना शौचालय बनिरहँदा उपमहानगरपालिकामा भने स्थानीयले दबाब दिँदा समेत शौचालय निर्माण हुन सकेको छैन । जुन उपमहानगरपालिकाको लागी लज्जाको विषय हो ।

Uamahanagar-samiti