धरान : नेत्रविक्रम चन्द विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थानीय शिक्षकको गोली हानी हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आज बिहान करिब ७ बजे स्थानीय शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनका अनुसार घटनामा विप्लव समूहको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ ’ उनले भने ।

आज बिहान श्रेष्ठलाई ३–४ जनाको समूहले घरबाट लिएर गएको थियो । सोही समूहले उठाएर बर्खे जङ्गलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए । राजेन्द्रको हत्या भएको जानकारी उनका भतिज महेशले प्रहरीलाई गराएका थिए ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन् । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको बताइएको छ ।