धरान : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।

मङ्गलवार प्रेस वक्तव्य जारी गर्दै विप्लव समूहले श्रेष्ठको हत्या गरेको स्वीकार गरेको हो । पटक पटक सुराकी गरेर आफ्ना कार्यकर्ता पक्राउ गरेको उल्लेख गर्दै विप्लव समूहले सम्झाउने क्रममा प्रतिकार गरेपछि हत्या गरेको स्वीकार गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची-कोसी ब्युरोले भनेको छ ‘ साउन देखि पटक पटक पार्टी विरोधी गतिविधि रोक्न र आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गितिविधी गरिरहेका थिए । यस पटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गयो ’ भनी इन्चार्ज प्रतापद्वारा हस्ताक्षर गरिएको प्रेस वक्तव्य सार्वजनिक गरिएको छ ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रदेश १ का डिआइजी ईश्वरबाबु कार्कीले जानकारी दिए ।

मङ्गलवार बिहान घरबाट अपहरणमा परेका ५४ वर्षीय श्रेष्ठको शव बिहान करिब ८ बजे गाउँलेले भेटेका थिए । गाउँलेले घटनास्थलबाट प्रहरीलाई गोली पड्किएको आवाज आएको बताए पछि स्थानीयलाई उद्दत गर्दै गोली हानी हत्या भएको बताएको थियो ।

तर दिउँसो ४ बजे घटनास्थल पुगेको प्रहरी टोलीले गोली प्रहार नभई धारिलो हतियार प्रयोग गरेको अवस्थामा शव फेला पारेको थियो ।

‘हात बाँधेर धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।’ कार्कीले भने ‘ विकट क्षेत्र भएकाले प्रहरीलाई पुग्न समय लाग्यो ।’ सामाजिक अगुवा समेत रहेका शिक्षक श्रेष्ठको हत्यामा संलग्नको खोजी कार्य भइरहेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिक्षक हत्यामा संलग्नलाई कानुनी दायरमा ल्याउने बताएका छन् ।

Biplab-Baktabeya

हत्या गरिएका शिक्षकको शव विराटनगर ल्याइँदै

मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित जङ्गलमा विप्लव समूहले हत्या गरेका शिक्षकको शव विराटनगर ल्याईँदैछ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको शव पोस्टमार्टमका लागि विराटनगर ल्याउन लागिएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङको अति विकट पहाडी क्षेत्रमा घटेको घटनास्थल मोरङ, धनकुटा, पाँचथरको सिमाना नजिकै रहेकोले प्रहरी पुग्न निकै समय लागेको हो ।