विराटनगर : भौतिक संरचना निर्माण गर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरूको भनाई छ । भौतिक पूर्वाधारहरू अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवश्यक रहेकोमा उनीहरूको जोड छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ ले आज सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरू प्रयोगकर्तामैत्री हुने बताए ।

निर्माण भइरहेका र निर्माण हुने संरचना प्रयोगकर्तामैत्री हुने उनले बताए । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा सम्म पुग्नका लागि पुरानो संरचनालाई सुधार गरिएको बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरूका लागि स्थापना गरिएको सूचना केन्द्र मन्त्रालयको आँगनमा नै निर्माण गरिएको छ ।’

कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुनु पर्नेमा जोड दिए । अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भए सवैका लागि हुने उहाँको भनाई छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरू प्रयोगकर्तामैत्री हुनुपर्ने बताए । प्रदेश सरकारका मन्त्रालयहरू प्रयोगकर्ता मैत्री नभएको उहाँको भनाई छ ।

प्रदेशका मन्त्रालय अहिले पुरानै संरचनामा भए पनि सामान्य रूपमा पनि प्रयोगकर्ता मैत्री बनाउन ध्यान नगएको गुनासो उनले प्रदेश सरकारले तीन पटक बजेट ल्याइसक्दा पनि भएका संरचनाहरूको सामान्य मर्मतमा पनि ध्यान नदिएको बताए

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरे पनि अझै पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, वुढीगंगा, कटहरी र ग्रामथान र विभिन्न अपाङ्गताको क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।