धरान : मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङमा 'विप्लव' नेतृत्वको नेकपा कार्यकर्ताले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि अहिले सो क्षेत्रमा प्रहरीको सर्च अप्रेसन चलाइएको छ ।

मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई सुराकीको आरोपमा मङ्गलवार हत्या गरिएको विप्लव समूहले प्रेस वक्तव्य जारी गरेर जिम्मा लिएको थियो । त्यसपछि घटनास्थल बर्खे जङ्गल, कालापानी, जौवारी, श्रीलिङ र आइतबारे लगायतका क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सर्च अप्रेसन गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

'दुवै प्रहरी टोली त्यस क्षेत्रमा सर्च अपरेसनमा जुटेको छ । हत्यामा संलग्न विप्लवका कार्यकर्ताको खोजी हुदैछ’ उनले भने 'धनकुटा, पाँचथर, इलाम र मोरङका प्रहरीहरूको संयुक्त समन्वयमा सर्च अप्रेसन भइरहेको छ ।'

शिक्षक श्रेष्ठलाई गोली हानिएको भनिए पनि घटनास्थलमा पुग्दा हात बाँधेर घाटी रेटेको अवस्थामा निर्मम र बीभत्स तरिकाले हत्या गरिएको थियो । राजनीतिक समूहले यस्तो निन्दनीय घटना घटाएको  र कारबाही गर्नका लागि घटनास्थल आसपासका क्षेत्रमा प्रहरी सर्च अप्रेसन थालिएको प्रहरी उपरीक्षक खडकाले बताए ।

शिक्षकको शव परिवारलाई बुझाइयो

हत्या गरिएका शिक्षकको शव बुधवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पोस्टमार्टमका लागि विराटनगर लाने भनिए पनि धरानमै पोस्टमार्टम गरिएको र शव परिवारलाई बुझाइएको छ । परिवारले गाउँमै लगेर अन्तिम संस्कार गर्ने बताएका थिए ।