झापा : सहरी विकास मन्त्रालयले उर्लाबारी स्थित सन्थालजातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियर सहितको टोली मोरङको उर्लाबारी पठाएको छ ।

टोलीमा सहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्र मोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शसिन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति,कृष्ण प्रसाद तिमिल्सिना, डा. केदार दाहाल र नीलमणि मिश्र रहेका छन् ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी एक महिनाभित्र मन्त्रालयलाई बुझाउने छ । उक्त टोलीलाई निर्देशन दिँदै सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्य अनुसार काम अघि बढाउनुपर्ने बताए ।

उनले भने हामीले जस्तो योजना बनाउन खोजेका छौ, सोही अनुसार अध्ययन गर्नुस्, हतारमा काल्पनिक योजना नबनाउनुस्, सबै सरोकावालसंग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस् । उनले स्थलगत निरीक्षण गरी बस्ती विकास गर्दा उनीहरूको संस्कृतिमा कुनै असर नपर्ने गरी बनाउने बताए ।

राणाहरूले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएको यी जातिको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने तपाईँहरूले गरेको यो अध्ययनले सरकारलाई सन्थाल जातिको एकिकत र व्यवस्थित बस्ती विकास गर्न सहज पुग्नेछ ।

निर्देशन दिने क्रममा सचिव डा. रमेश प्रसाद सिंहले स्थानीय सरकारको समन्वयमा बस्ती विकासको लागि पूर्वाधार निर्माण गर्ने स्थान पहिचान गर्ने,सुरक्षित बस्ती मापदण्ड अनुसार निर्माण गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरे ।

टोलीले बुधवारबाट काम थालेको छ । टोलीमा स्थानीय निकाय अधिकारी, विज्ञ, प्रदेश योजना आयोगका अधिकारी समेत सहभागी हुनेछन् । टोलीले एक महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ ।

यही मङ्सिर ९ गते मन्त्री कृष्ण गोपाल श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंह सहितको टोलीले सन्थाल बस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालबस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न आग्रह गरेपछि मन्त्री श्रेष्ठ उर्लाबारी स्थित बस्तीको अवलोकन गरेका हुन ।

उर्लाबारीको नगरपालिका-८ स्थित खोला किनारामा रहेको सन्थाल जातिको प्रस्तावित एकीकृत बस्तीको अवलोकन पछि सहरी मन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने जानकारी दिए । बस्तीमा बसेका करिब ७० घर परिवारको बसोबास रहेको छ ।

खोला उकास क्षेत्रमा नरकट र खरको छानाले बारेर बनाएको घरमा बस्दै आएका बस्तीलाई तत्काल व्यवस्थित बस्तीको रूपमा विकास गर्न मन्त्रालयले टोली पठाएको हो ।

Santhal-jati-2