धरान : सुराकी गरेको आरोपमा नेत्र विक्रम चन्द 'विप्लव' समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरिँदै छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम पछि हिजो आफन्तले शव बुझेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार पोस्टमार्टम पछि छोरा छत्रले राजेन्द्रको शव बुझेका हुन । शवको आज बिहान अन्त्येष्टि गरिने आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका-१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको विप्लव समूहले मङ्गलवार बिहान अपहरण पछि जङ्गलमा लगेर हत्या गरेको थियो ।

आफ्नो विरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइए पछि हत्या गरेको विप्लव समूहले मंगलबारनै प्रेस वक्तव्य जारी गरी दाबी गरेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न केही व्यक्तिहरूको विवरण खुलेको प्रहरी स्रोतले बताएको छ ।

Sikxak-hateya-3

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ ।

स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी हुन । ‘गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधैँ अगाडी हुनुहुन्थ्यो ।’ छिमेकी मदन श्रेष्ठ भन्छन् ‘ हाम्रो गाउँले अभिभावक गुमायो ।’ वडा अध्यक्ष नरबहादुर राईले गाउँ शोकमा डुबेको बताए ।

विभिन्न सङ्घ सङ्गठनले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । शिक्षक सङ्घ सङ्गठन, मानव अधिकारवादी संस्थाहरू, राजनीति दल, स्थानीय सङ्घ संस्था, नागरिक समाजसमेतले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेका दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Sikxak-hateya-2