तेह्रथुम : समुदायको परम्परागत ज्ञानलाई संरक्षण गर्न याक्थुङ (लिम्बु) जातिमा मौलिकताको अभियान तीव्र भएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले बताएका छन् ।

मौलिक पहिचानसँगै पुर्ख्यौली ज्ञान, अनुभव र सीपलाई संरक्षण गर्न सांस्कृतिक पुनः जागरणको अभियान सुरु भएको उनले बताएका हुन् ।

तेह्रथुमको म्याङ्लुङमा युमा साम्यो महासभाले आयोजना गरेको याक्थुङ मौलिक धर्म तथा संस्कार संस्कृति विषयक अन्तरक्रियामा बोल्दै मेयर माबुहाङले धर्म परिवर्तन र रूपान्तरणले समुदायको पहिचानसँगै ज्ञान सङ्कटमा परेको आरोप लगाए ।

‘इतिहासमा पहिलो सांस्कृतिक आक्रमण बौद्ध भिक्षुहरूबाट भयो । त्यसपछि हिन्दुहरूबाट, अहिले इसाई र सत्तेहाङ्माकरणले थप सङ्कट निम्तेको छ,’ मुन्धुमविद् समेत रहेका माबुहाङले भने, ‘याक्थुङ लिम्बुहरूको संस्कार संस्कृतिलाई त्यागेर जानेबाट नै सबैभन्दा धेरै द्विविधा उत्पन्न भएको छ ।’ उनले युमा साम्योको अभियानले जातीय सांस्कृतिक पहिचानमा लाग्नेहरूलाई प्रेरणा दिएको बताए ।

दर्जन बढी पुस्तकका लेखक समेत रहेका उनले सत्यहाङ्मापन्थीको मुन्धुमले लिपि संरक्षणमा भूमिका खेले पनि समुदायको माटो र परम्परासँगको सम्बन्धबाट विच्छेद गरेको भन्दै आलोचना गरे । ‘पेगिफाङ्साम(फेदाङ्मा, साम्वा, येवा, येमा) को मुन्धुमले परम्परागत ज्ञान राख्थ्यो । सत्यहाङ्माको मुन्धुमले दैलो, चुलो, मूल खाँबो, सिकुवा हुँदै जीव पर्यावरणसँग टाढा राख्ने काम गर्यो। जल, जमिन र जङ्गलको सम्बन्धबाट विच्छेद गरायो,’ उनले भने । समुदायमा चलिरहेको धार्मिक बहसमा उल्लेख हुने भोगवलीको कुरा तपसिल भएको भन्दै इष्टदेव युमा सेगेफुङ (फुल) अर्पण गर्दा मात्रै पनि खुसी हुने धारणा राखे ।

त्यस्तै, संस्कृतिविद् एवम् महासभाका केन्द्रीय सदस्य आइत खजुमले संसारमा शुद्ध धर्म र जातीय धर्म गरेर दुई किसिमका धर्महरू प्रचलनमा रहेकोले पनि युमा धर्म उल्लेख गर्दा कोही अचम्मित हुनु नपर्ने बताए । उनले जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार संस्कृति संरक्षण गर्न युमा धर्मको अभियान चलेको प्रस्ट्याए । ‘हामी याक्थुङ्बा गोलो चीज भयौँ । उकालोमा ठेल्न पनि सजिलो । ओरालो र तेर्सोमा धकेल्न पनि सजिलो,’ धर्मको मामिलामा भएको अलमलप्रति व्यङ्ग्य गर्दै भने, ‘राज्यसत्ताले भन्दा हिन्दु लेख्यौँ । पछि यसो होला भनेर किरात पनि लेख्यौँ । अब चिन्तन र अध्ययन बढाएर मात्रै हाम्रो चिन्ताको विषय समाधान हुनेछ ।’

तीन दर्जन बढी अभियन्ताहरूको सहभागिता रहेको कार्यक्रमले जिल्लामा सङ्गठन विस्तार समेत गरेको छ । भेलाले लाल कुमार पयाङ्गुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति निर्माण गरेको छ । समितिको सचिवमा टीका खवाहाङ र सदस्यहरूमा बम बहादुर कुरुम्वाङ, डम्बर पयाङ्गु, महेन्द्र मादेन, शुद्धराज लिम्बु, राम बहादुर खापुङ, विकास सेनेहाङ, रेवत पारघरी र अमर माबुहाङ रहेका छन् ।

महासभाले तेह्रथुमको आठराई, फेदाप र छथर क्षेत्रमा सङ्गठन विस्तार गरेर आगामी राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने अभियान तीव्र पार्ने अध्यक्ष लाल कुमार पयाङ्गुले बताए ।