इटहरी : ११ बूँदे इटहरी घोषणा पत्र पारित गर्दै लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न भएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल ताल तलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले १६ दिन सम्म वडा वडामा गरिएको अभियानले लैगिक हिंसा विरुद्ध जागरण र चेतना फैलाएको बताए ।

सामाजिक जागरण र दण्डहीनताको अन्त्य गर्न सके लैगिंक हिंसाका घटना कम हुने उनले बताए । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गरे । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरीका सबै वडाहरूमा अन्तरक्रिया कार्यक्रम सहितका ४० बढी कार्यक्रम सम्पन्न गरिएको बताए ।

विषम परिस्थितिका बाबजुद पनि लैङ्गिक हिंसा विरुद्धको अभियानलाई यस वर्ष गत वर्ष भन्दा अझ व्यापक बनाएको बताए । सम्मेलनले पारित गरेको घोषणा पत्रमा उपमहानगरले लैगिक नीति निर्माण गरी कार्यान्वयन गरिने, महिलाले नागरिकता प्राप्तिमा झेल्नु परेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने, सबैको पहुँचयुक्त सार्वजनिक निकायका भवन सबैको पहुँच युक्त भौतिक संरचना निर्माणमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै सम्मेलनबाट एक बडामा पाँच वटा किशोरी साथी समूह निर्माण गरिने,प्रत्येक वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा हेल्पडेस्क स्थापना गरिने,एक वडा एक मनोविमर्षकर्ताको व्यवस्था गरिने,हिंसा प्रभावित महिला तथा बालबालिकाको पुनर्स्थापना र जीविकोपार्जनमा टेवा पूर्याउन आवश्यक तालिम र सहयोगका व्यवस्था मिलाउने लगायतका कार्ययोजना तय गरिएको छ ।

मङ्सिर १० गते इटहरी उपमहानगर परिसरमा तथा सेतो रिबन वितरण गरेर लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम शुभारम्भ गरिएको थियो । अभियानका क्रममा इटहरीका सबै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । इटहरीका सबै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला सञ्जाल सँग वडा वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

लैगिंक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउन इटहरीका वडाहरूमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सक्रिय छन् । लैङ्गिक हिंसा विरुद्धको यस किसिमको अभियान नेपालमै पहिलो पटक भएको उपमेयर गौतमले दाबी गरे ।