धरान : गत सोमबार देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरु भएको २७ औँ वार्षिक साइन्टिफिक कार्यक्रम सम्पन्न भएको छ ।

आज बिहान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका लागी प्राप्त भएका १ सय ४९ वटा एबस्ट्राक ९अनुसन्धानका सारांश० मध्ये विभिन्न विधाका उत्कृष्ट ५ वटा एबस्ट्राकलाई समापनका बेला पुरस्कृत समेत गरिएको छ ।

जस अन्तर्गत वेस्ट ओरल पेपर फ्याकल्टी विधामा डा. अभिनय लुइँटेल विजेता बनेका छन् । यस्तै, वेस्ट ओरल पेपर पोस्ट ग्राजुएट विधामा रमु महर्जन र वेस्ट ओरल, पोस्टर केस रिपोर्ट पोस्ट ग्राजुएट विधामा डा. पुष्पा उपाध्याय विजयी बनिन ।

यसै गरी, वेस्ट ओरल पेपर अन्डर ग्राजुएट विधामा जगतकिरण ओली र वेस्ट पोस्टर अन्डर ग्राजुएट विधामा निशान्त डल्लाकोटी विजयी बनेका छन् । अर्को पोस्ट ग्राजुएटको अरिजिनल आर्टिकल पोस्टर विधामा भने कुनै पनि एबस्ट्राक प्राप्त नभएको आयोजकले जनाएको छ ।

विजेतालाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । एबस्ट्राकका लागी विभिन्न विभागका प्रा. डा. तथा डाक्टरहरू गरी २६ जना निर्णायकहरू रहेका थिए ।

कार्यक्रममा बोल्दै उपकुलपति गिरीले महामारीका बिच समेत प्रतिष्ठानको वार्षिक कार्यक्रम गर्न सफल रहेकोमा कन्भेनर प्रा. डा. परीचा उपाध्याय सँगै सबै टिमलाई धन्यवाद दिए । ’प्रतिष्ठानमा हरेक वर्ष हुने साइन्टिफिक कार्यक्रम विभिन्न अनुसन्धानकर्ताको लागी विचार, विधि उत्खनन गर्ने बलियो मञ्च भएको छ ।

यसमा मैले पहिलो पटक सहभागिता जनाएको हो ।’ उनले भने, ’कोभिडका बिच समेत हामीले यसरी भव्य रूपमा कार्यक्रम गर्न सफल भएका छौ । यसरी नै हामी सबै मिलेर प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा उत्कृष्टता हासिल गराउँदै पुरानो गरीमामा फर्काउन जरुरी रहेको छ ।’ अर्को वर्ष यो भन्दा भव्य रूपमा कार्यक्रम आयोजना गरिने समेत उपकुलपति गिरीले बताए ।

कोभिडको कारण यस वर्ष पहिलो पटक डिजिटल प्लेटफर्ममा कार्यक्रम गरिएकोमा अघिल्ला वर्षहरू भन्दा बढी सहभागी भएको कन्भेनर प्याथोलोजि विभागका प्रमुख प्रा. डा. परीचा उपाध्यायले जानकारी गराइन ।

’एभिडेन्स म्याटर्सः प्रोमोटिङ रिसर्च अमिड्स्ट द ग्लोबल पान्डेमिक’ थिममा यस वर्ष आयोजित कार्यक्रमको समापनका बेला प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनाल, डिन प्रा. डा. शिवेन्द्र झा, सहायक डिन डा. अजय यादव लगायतको उपस्थिति रहेको थियो ।