धरान : जबरजस्ती करणीको घटनामा मिलापत्र गराउने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मङ्सिर २४ गते २१ वर्षीय युवतीलाई धान खेतमा मल छर्ने क्रममा जर्वजस्ती करणी गरेको भन्दै युवतीले बेलबारी नगरपालिका वडा ८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवास विरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा फरार प्रतिवादी सुरेशलाई रंगेली प्रहरी टोलीले मङ्सिर १९ पक्राउ गरेको थियो । अनुसन्धान गर्दा घटना गाउँघरमा पीडित पक्षलाई ५ लाख रुपैयाँ दिएर मिलापत्र गराउन भनी बनाएको लिखित मिलापत्र कागज समेत बरामद गरेको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

खड्काका अनुसार उक्त बरामद मिलापत्र कागज गराउन संलग्न धनपालथान गाउँपालिका वडा ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ बस्ने ५३ वर्षीय मथालु खवास पक्राउ परेका छन् । उनीहरूलाई हिजो पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।