झापा : झापाको गौरीगञ्ज पाडाजुङी सडक खण्ड अन्तर्गत पर्ने कमल गाउँपालिका ७ गेउरियामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परि अन्य ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मे १ च ६४९७ को पिक अप भ्यान आज बिहान करिब साढे १० बजेको समयमा दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा परि मृत्यु हुनेमा झापाको दमक नगरपालिका ९ का ५५ वर्षीय मङ्गल चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार घाइते हुनेहरूमा दमक ९ का २४ वर्षीय अनिल चौधरी, ५२ वर्षीय गलेश्वर माझी, दमक ५ का ३८ वर्षीय राजेश माझी, ६५ वर्षीय तमनलाल मण्डल र दमक ९ का २६ वर्षीय सुनिल चौधरी रहेका छन् । घाइतेमध्ये सुनिललाई बिराटनगस्थित न्युरो अस्पताल रेफर गरिएको छ ।

अन्य घाइतेहरूको दमकको एक निजी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मार्वल्स बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिक अप भ्यानको चक्का खुस्केर दुर्घटना भएको हो ।