धरान : कोरोनाको जोखिम मोलेर विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा धरानका अभिभावकहरु नभएको धरान 'अभिभावक विद्यार्थी परिवार'ले बताएको छ ।

कोरोना महामारी नियन्त्रणमा आइ नसकेको बेलामा धरान उपमहानगरपालिका र विद्यालय सञ्चालकले एकतर्फी निर्णय गरेको भन्दै जोखिम माथि जोखिम मोल्न विद्यार्थीलाई विद्यालय नपठाउने बताउँदै आएका छन् ।

हाम्रा छोरा छोरीको जिम्मा कसले लिन्छ ? धरानका मेयरले की विद्यालय सञ्चालकले ? अभिभावकको प्रश्न छ । स्थानीय सरकारले जिम्मा लिन्छ भनौँ भने नगरप्रमुख स्तरीय निर्णय भनिएको छ यो कस्तो निर्णय हो ? 'जोखिम हुँदै विद्यालय सञ्चालन गरेर झन् जोखिम निम्त्याउनु ठिक होइन' एक अभिभावकले भने ।

स्वास्थ्य विज्ञहरूले कोरोना खतरा अझै कम नभएको भनेर भनिरहँदा हाम्रा पालिका र विद्यालयले अभिभावकलाई जिम्मेवारी थुपारेर आफू चाहिँ जिम्मेवारीबाट पन्छिन खोजेको धरान अभिभावक विद्यार्थी परिवारका विकास भाटीले बताए । उनले भने 'यो कदापि सह्य हुन्न, पालिका तथा विद्यालय जिम्मेवारीबाट कदापि भाग्न मिल्दैन' ।

बहस विद्यालय खोल्ने भन्दा पनि विद्यार्थीलाई यो समयमा कसरी सिकाउने भन्नेमा केन्द्रित हुनुपर्छ । अब सम्पूर्ण सरोकारवाला शिक्षण सिकाइका वैकल्पिक विधिहरू पनि प्रभावकारी हुँदै गएको अवस्था र हुन नसकेका भए कसरी थप प्रभावकारी बनाउने भन्नेमा बहस हुनु जरुरी देखिएको बेलामा यसरी भौतिक रुपमै विद्यालय सञ्चालनमा ल्याउनु जोखिम भएको भाटीको भनाई छ ।

विद्यालय तत्काल खोले पनि अधिकांश अभिभावकहरू भयभीत अवस्थामै रहेका र आफ्नो छोराछोरी विद्यालय कसरी पठाउनु भन्नेमा चिन्तित रहेको बताउँदै उनले भने “वार्षिक शुल्कको विषयमा पलिकाबाट ल्याइएको मोडालिटी एकदमै स्वागत योग्य भएता पनि मासिक शुल्कको विषयमा भने अझै अन्यौलता नै देखिन्छ ।” धरान उपमहानगरपालिकाको नगरप्रमुख स्तरीय निर्णयको धरान अभिभावक विद्यार्थी परिवारले खण्डन समेत गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयको विद्यालय सञ्चालन नगर्न आग्रह 
जोखिम मोलेर विद्यालय सञ्चालन गर्ने निर्णयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ ।

मुलुकका विभिन्न जिल्लामा विद्यालय स्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति समेत जनाएको छ । प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

‘आधिकारिक निकायले अनुमति नदिईकन कक्षा सञ्चालन गर्नु हुँदैन । घरमै बसिरहेका बालबालिकालाई समेत सङ्क्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा सङ्क्रमण बढ्न सक्छ । अभिभावकमा समेत सङ्क्रमणको जोखिम बढाउँछ ।’

गौतमले कोरोना सङ्क्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम झन् बढ्ने बताए । ‘सरकारले कोरोना सङ्क्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो ।

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन् । पठनपाठन समेत सुरु भइसकेको छ ।