इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको रेखा वडा स्तरसम्मै देखिन थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहका विरुद्धमा अर्का अध्यक्ष केपी शर्मा ओली गुट खरो रूपमा उत्रिन  थालेको छ । त्यसको बदलामा दाहाल नेपाल समूह रक्षात्मक देखिन थालेको छ ।

पछिल्लो समय मोरङ सुनसरीका केही घटनालाई हेर्ने हो भने प्रचण्ड माधव समूहका विरुद्धमा ओली समूह धावा बोल्न थालेको छ । उता दाहाल-नेपाल समूहले पनि आफ्नो उपस्थिति फैल्याउँदै लगेको छ । भातृ सङ्गठन देखी टोल स्तरका कार्यकर्ता सम्म आफ्नो प्रभाव बढाउने दौडमा लागिरहेका छन् ।

केन्द्रमा विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव जिल्ला देखी टोल स्तरसम्म देखा परेको देखिन्छ । पार्टी विभाजन बाट जोगाउन र पार्टी एकता मजबुत बनाउने भनीएपनि गुटगत भेला तथा छलफलले विभाजनको सङ्केत गर्न थालेको देखिन्छ ।

२०७६ माघ मै माधव नेपाल समूहको नेकपा इटहरीको पार्टी कार्यालयमा पार्टी भित्र भिडेर जाने भन्दै भेला भएको थियो । मोरङ र सुनसरीको नेपाल पक्षीय नेताहरूको भेलाले ओली समूहलाई कमजोर बनाएर लैजाने योजना बनाएको थियो । पछिल्लो समय दाहाल पनि ओली विरुद्धमा देखिएपछि नेपाल-दाहाल समूह एक भएका हुन् ।

यही कात्तिक दोस्रो साता ओली निकट नेताहरूको प्रदेश १ का पर्यटन मन्त्री जगदीश कुसीयतको घरमा भेला भयो । सो भेलाले अब रक्षात्मक मात्र नभएर आक्रामक ढङ्गले अगाडी बढ्ने निष्कर्ष निकाल्यो । सुनसरीका नेपाल-दाहाल समूहको प्रभाव बढी भएकोले त्यसलाई कमजोर बनाउन रणनीति बनाउने बारे छलफल भयो । उपस्थित नेताहरूले दाहाल-नेपाल समूहका विरुद्धमा लाग्ने बताए ।

त्यसको बदलामा दाहाल-नेपाल समूहले मङ्सिर पहिलो साता इटहरी ब्याङकेटमा अर्को भेला बोलायो । नेकपा प्रदेश १ इन्चार्ज भीम आचार्य र मोरङ जिल्ला नेकपा अध्यक्ष नवीन पौडेल सहितको भेलाले ओलीको सर्वसत्तावाद विरुद्ध भिडेर जाने योजना बनायो । आफ्नो पक्षका कार्यकर्ताहरूलाई गाउँसम्म सङ्गठित गर्ने र गुटको विरुद्धमा परिचालन गर्ने रणनीति बनायो ।

सँगै धरानमा दाहाल-नेपाल समूहका युवा तथा बिद्यार्थीहरुको भेला भयो । सुनसरीका युवाहरूले दाहाल-नेपाल समूहको बचाउमा अगाडी बढ्ने र ओली समूहलाई कमजोर बनाउने योजना बनायो । त्यसै समयमा नेपाल गुटकी युवा नेतृ रामकुमारी झाँक्रीले रामधुनीमा सुनसरीका युवाहरूको भेलालाई सम्बोधन गरिन् । युवाहरूलाई पार्टी भित्र अराजकता मौलाएकोले त्यसको विरुद्धमा लाग्न निर्देशन समेत दिइन् ।

उता ओली पक्षीय युवा विद्यार्थीले बराहक्षेत्रको सिलौलीमा भेला बोलाए । दाहाल नेपाल समूहलाई काउन्टर दिने उद्देश्यले भेला बोलाइयो । कुनै रणनीति तय नगरेको भए पनि सामाजिक सञ्जालमा आफ्नो उपस्थिति दमदार रहेको देखाउन भेला आयोजना गरिएको सहभागी मध्येका एकले बताए ।

त्यतिले मात्र नपुगेर विराटनगरमा ओली पक्षीय विद्यार्थीको भेला आयोजना भयो । अनेरास्ववियू संयोजक ऐन महर र प्रदेश १ आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले कार्यक्रमलाई सम्बोधन गरेका थिए । पार्टी कार्यकर्ताको भावना विपरीत दाहाल–नेपाल समूह लागी परेको भन्दै त्यसको विरुद्धमा एकजुट हुन उनीहरूको सन्देश थियो ।

ओली समूहले एकपछी अर्को आक्रामक कार्यक्रम बढाउँदै लगेको छ । फलस्वरूप आज मोरङको सुन्दरहरैचामा झापा मोरङ र सुनसरीका युवाहरूको शक्ति प्रदर्शन हुने भएको छ । युवा सङ्घका सहसंयोजक रमेश पौडेल र राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव रमेश सिलवालले कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । सुनसरी मोरङमा प्रचण्ड-नेपाल  समूहको बलियो उपस्थिति भएकोले सुनसरीको सिमानामै पर्ने बाँसबारीको सिग्देल बन्धु प्रतिष्ठानको भवनमा कार्यक्रम हुने भएको हो ।

त्यसको बदलामा नेपाल दाहाल समूहका युवाहरूले ओलीको निर्वाचन क्षेत्र दमकमा बृहत् भेलाको आयोजना गर्ने भएका छन् । युवासंघ संयोजक दीपशिखाले सम्बोधन गर्ने भेला नेपाल-प्रचण्ड समूहको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ ।

यसरी केन्द्रीय स्तरका नेताहरूको उपस्थितिमा वडा स्तर देखी जिल्ला स्तर सम्म पार्टी विभाजनको खेल सुरु भएको छ । पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता जनाएका  नेताहरू आफै गुटगत भेला र समारोहमा सहभागी हुन थालेका छन् ।