धरान : धरानका मेयर तिलक राई सहितको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खानेपानी सिस्टमको अनुगमन गरेको छ ।

प्रतिष्ठानले सम्झौता गरेर खानेपानी आपूर्तिको व्यवस्थापन तथा सञ्चलनको लागि संस्थानलाई वार्षिक लाखौँ रुपैयाँ तिर्दै आएको छ। संस्थानको सम्पूर्ण सम्पत्ति तथा दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा आउने भएपछि प्रतिष्ठानको खानेपानी आपूर्तिबारेको पनि जिम्मेवारी लिने भएकोले आज स्थलगत अनुगमन भएको बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राईले बताए ।

अनुगमनमा मेयर तिलक राई, प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी सहित इन्जिनियर, प्राविधिकहरूको टोली रहेका थिए ।

चारकोशे जङ्गलको सबै भन्दा अन्तिमको ५ र ६ नम्बर डिप बोरिङबाट पानी आपूर्ति गरिएकोमा दुवै डिप बोरिङको जेनेरेटर बिग्रिएको र पानी उत्पादन ज्यादै न्यून पाइएको अनुगमनमा गएका धरान खानेपानी व्यवस्थापन बोर्डका राजु पोखरेलले बताए ।

अनुगमनको क्रममा प्रतिष्ठानको भौतिक संरचनाहरू ज्यादै जीर्ण अवस्थामा पुगेको पाइयो यस्तो अवस्थामा खानेपानी व्यवस्थापन बोर्डले जिम्मा लिन नसक्ने मेयर राईले बताए । त्यसैले जीर्ण भएका भौतिक संरचनाहरूको तुरुन्त मर्मत सम्भार गरी चुस्त दुरुस्त राख्न मेयरले प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

प्रतिष्ठान र खानेपानी संस्थान बिच सम्झौता हुँदा सामान्य मर्मत सम्भार संस्थानले गर्नुपर्ने र गम्भीर प्रकृतिले बिग्रिएको खण्डमा प्रतिष्ठानले बनाउनुपर्ने उल्लेख छ । तर त्यसो नगरिएको र त्यहाँ रहेका भौतिक संरचनाहरू बिग्रिएर जीर्ण अवस्थामा पाइएको धरान खानेपानी व्यवस्थापन बोर्डका राजु पोखरेलले बताए ।

प्रतिष्ठानले २०५६ सालदेखि सम्झौता गरेर खानेपानी आपूर्ति तथा संरचना सञ्चालनको जिम्मा संस्थानलाई दिएको हो । यसबापत प्रतिष्ठानले ८० लाख भन्दा बढी संस्थानलाई रकम तिर्दै आएको छ । यो रकम विद्युत, फ्युल, जनशक्ति र मर्मत सम्भारको लागि भनिएको छ ।

Khanepani-anugaman