धरान : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै धरानमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ ।

आइतबार धरानको छाता चोकबाट नेविसंघ र तरुण दलले सिट्ठी जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो । छाता चोकबाट सुरु भएको सिट्ठी जुलुस भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरानका कार्यवाहक सभापति दोर्चि शेर्पाका अनुसार नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय समिति १ तथा धरानका ४ वटा क्याम्पस एकाइ समिति साथै तरुण दल धरान नगर समितिले सिट्ठी जुलुसमा सहभागिता जनाएका थिए ।

इन्जिनियरिङ क्याम्पसका नेविसंघ सभापति सुजन खडका, हात्तीसार क्याम्पसका नेविसंघ सभापति रुपेष कटुवाल, महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघ कार्यवाहक सभापति दोर्चि शेर्पा, पिण्डेश्वर क्याम्पसका नेविसंघ सभापति सरोज अधिकारीले कोणसभामा संवोधन गरे ।

यस्तै नेविसंघ सुनसरीका उपाध्यक्ष नवराज ढुङ्गाना र तरुण दल धरानका उपाध्यक्ष नरसिंह राईले पनि संवोधन गरेका थिए । केही दिनअघि तनहुँमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, सरकारको गलत क्रियाकलाप र मोरङको मिक्लाजुङ शिक्षक हत्या काण्ड विरुद्ध धरानमा सिट्ठी जुलुस प्रदर्शन गरेका हुन् । नेविसंघले ओली सरकार कोरोनाको नाम लिएर कमाउ धन्दामा लागेको समेत आरोप लगाए ।

विद्यार्थी नेताहरूले भोलि हुने काँग्रेसको देशव्यापी विरोध प्रदर्शनलाई सफल पार्न आह्वान पनि गरे । काँग्रेसले भोलि (सोमबार) देशका ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।