धरान : उदयपुर, मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

हिजो उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पूर्वबाट पश्चिम तर्फ ज्यादै गरेको प्रदेश १-०५-००१ प १८५० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ९१०१ नम्बरको मोटरसाइकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० वर्षीय भविन्द्र परियार घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा ल्याइएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

यसै गरी विराटनगर महानगरपालिका ४ ईकराहीमा खेत जोतिरहेको अन टेस्ट ट्याक्टर अचानक दुर्घटना भई पल्टँदा घाइते भएका चालक सुनसरीको बर्जू गाउँपालिका ६ चिमडीका ५५ वर्षीय आशाराम चौधरीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती  पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

यस्तै आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका १ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ वर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाइएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।