विराटनगर : प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको ग्रामथानमा बन्ने मानव सेवा आश्रम, ज्येष्ठ नागरिक ग्राम प्रदेशकै गौरवशाली परियोजना भएको बताएका छन् ।

मोरङका ग्रामथान गाउँपालिका वडा नं ६ र ७ मा ७२ बटा घर सहितको तीन करोड ५० लाखको लागतमा १० बिगाहा १४ कट्ठामा निर्माण गरिने मानव आश्रम, ज्येष्ठ नागरिक ग्राम र बालबालिका ज्ञान केन्द्रको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन ।

मन्त्री घिमिरे यस परियोजनाको निर्माणबाट यस क्षेत्रका मुहार फेरिनुका साथै विकास निर्माणले गति लिने दाबी समेत गरे ।

उनले यस क्षेत्रमा बसोबास गर्ने सुकुम्वासीलाई उचित व्यवस्थापन गर्ने विश्वास दिलाउँदै प्रदेशका अन्य क्षेत्रका सुकुम्वासीहरूलाई बसोबासको लागि घर उपलब्ध गराएकाले उनीहरूको यथोचित प्रवन्ध गर्ने आश्वासन समेत दिए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हामी सबैले बेसहारालाई सेवा गर्नुपर्नेमा जोड दिँदै निर्माण हुने स्थल समाजसेवा सहित पर्यटकहरूको आकर्षणलाई ध्यान दिई निर्माण गरिने जानकारी दिए ।

आश्रमको विस्तृत निर्माण परियोजना निर्माणकर्ता इन्जिनियर एवं पूर्व मिस नेपाल शृङ्खला खतिवडाले ७० प्रतिशत रकम स्थानीय निर्माण सामाग्री तथा रोजगारलाई खर्च गर्नका लागि प्राथमिक दिई थारु संस्कृति झल्कने गरी आश्रमको निर्माण गरिने बताइन ।

Gramthan-1

सामाजिक अभियन्ता रमेश प्रसाईँले निर्माण हुने ग्राम हामी सबैको भएकोले यस पुण्य कार्यमा सबैको साथ र सहयोग गर्न आग्रह गरे ।

प्रदेश सरकारले आश्रम निर्माणका लागि चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ।

शिलान्यास समारोहमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर,उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास लगायतको उपस्थिति रहेको थियो