पथरी : प्रथम टेन्सवर्ग पथरी-शनिश्चरे प्रिमियर लिग फुटबलमा सोमवारको खेलमा हिमाअस हाइवे र हेरिका न्यू स्टारले अङ्क बाँडेका छन् ।

खेलको १९ औँ मिनेटमा हिमाअस हाइवेका जर्सी नं. ६ का खेलाडी आशिस गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

हाइवेले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा थप गोल गर्न सकेन । खेलको ४३ औ मिनेटमा डिबक्स एरियामा फल गरेपछि हेरिकाले पेनाल्टी हान्ने अवसर पायो । सोही अवसरको सदुपयोग गर्दै टिम क्याप्टेन रहेका मीन धिमालले गोल गर्न सफल भए ।

खेल अवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । हाइवेका असीम राईले गरेको निकै उत्कृष्ट प्रहार न्यू स्टारका गोल रक्षक विशाल दर्लामी मगरले विफल पारिदिए । खेलको ४४ औँ मिनेटमा न्यू स्टारका विवेक लिम्बूले गरेको प्रहार बाहिरिँदा खेलमा अग्रता लिन सकेँ ।

प्रस्तावित पथरी रङ्गशालामा आयोजित प्रथम प्रिमियर लिगको सोमवारको सोनालिका म्यान अफ दी म्याच न्यू स्टारका खेलाडी मीन धिमाल घोषित भए । मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

मङ्गलवारको खेल शिखर एफसी र श्रीजंगा एफसी बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार र उप विजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।