धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानीको आपूर्तिको लागी हालको भौतिक संरचनाको अवस्था तथा व्यवस्थापनको विषयमा आज छलफल गरी अध्ययनका लागी ५ जनाको प्राविधिक समिति गठन गरिएको छ ।

छलफल प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्रा. डा. गुरुप्रसाद खनाल, रजिस्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी लगायत धरान खानेपानी व्यवस्थापन बोर्ड तथा खानेपानी संस्थानका पदाधिकारीहरू बिच भएको छ ।

छलफलबाट प्रतिष्ठानको खानेपानीको अध्ययन गरी रिपोर्टिङ गर्नका लागी प्रतिष्ठानका इन्जिनियर नेत्र खड्काको संयोजकत्वमा प्रतिष्ठानका सिभिल इन्जिनियरका शाखा प्रमुख विकास बस्याल सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

यस्तै, सदस्यमा धरान खानेपानी व्यवस्थापन बोर्डबाट कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेल, बोर्डका इन्जिनियर प्रशान्त अधिकारी र खानेपानी संस्थानका धरान प्रमुख रामकुमार श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले एक सातामा अध्ययन प्रतिवेदन बुझाउने र त्यसै अनुसार कार्यहरू अगाडी बढाइने भएको छ ।

टिमले खानेपानी संस्थानसँग भएको सम्झौता अनुसार खानेपानी आपूर्तिको लागी भौतिक संरचनाको वर्तमान अवस्था र दायित्वको बारेमा प्रतिवेदन बुझाउने रजिस्ट्रार रेग्मीले जानकारी गराए । ’प्रतिष्ठानले सम्झौता गरेर खानेपानी आपूर्तिको व्यवस्थापन तथा सञ्चलनको लागि संस्थानलाई वार्षिक रूपमा नै रुपैयाँ तिर्दै आएको छ ।’

रजिस्ट्रार रेग्मीले भने, ’दुई दिन अघि अनुगमनमा जाँदा संस्थानसँग सम्झौता भए अनुसारको कार्यहरू पालना नभएको पाइएको छ । यस कारण भौतिक संरचनाहरू जीर्ण अवस्थामा रहेको पाइयो ।’ प्रतिष्ठानबाट समेत फलोअपमा कमीकमजोरी भएकोले गर्दा दुवै मिलेर समस्याको समाधान गर्ने र नयाँ संरचना अनुसार बोर्डबाट पानी आपूर्ति गर्नका लागी कार्यहरू अगाडी बढाउनेछौ ।

प्रतिष्ठानको भौतिक संरचना व्यवस्थित गर्ने जिम्मेवारी र दायित्व खानेपानी संस्थान र प्रतिष्ठानको रहेको मेयर राईले बताएका छन् । ’बोर्डले जिम्मा लिनुभन्दा अगाडी प्रतिष्ठानको खानेपानीको सबै संरचना सम्झौतामा भए अनुसारको हुनुपर्ने बताएका छौ ।’

उनले भने, ’संस्थानले भन्दा राम्रो र पर्याप्त रूपमा बोर्ड मार्फत खानेपानी प्रतिष्ठानलाई आपूर्ति गर्नेछौ ।’ खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने प्रक्रियाको थालनी भइसकेको र सबै सम्पत्ति तथा दायित्वको बारेमा बुझ्ने क्रम रहेको मेयर राईले बताए ।