विराटनगर : प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ ।

आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोगशालाको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए ।

उनले प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । उनले भने ‘ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको पनि प्रयोगशालाका काम गर्ने छ ।’

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न सहरहरू जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए ।

मन्त्री घिमिरेले भने,‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको ८ महिना पछि सेवा सुरु गरिने दाबी गरे । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उनले बताए ।

प्रदेश सभासद् जयराम यादवले कुनै पनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरी सेवा सुरु गर्न सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरीय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताए । उनले प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए ।

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाईँ, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्ले लगायतले बोलेका थिए ।

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि ८ करोड बजेट उपलब्ध गराइने सेभ द चिल्ड्रेनका वरिष्ठ व्यवस्थापक बजगाईँले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।