पथरी : शिखर फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा लिग टेबलको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रथम टेन्सवर्ग पथरी-शनिश्चरे प्रिमियर लिग फुटबलको मङ्गलवारको खेलमा सिरिजंगा फुटबल क्लब विजयी भएको हो। सिरिजंगाका मञ्जिल खडका र जहरमान चेम्जोङले गोल गरे ।

विजयी टिमका खडकाले खेलको ४९ औँ मिनेटमा सुवास तामाङले डी बक्समा दिएको पासलाई गोलमा परिणत गरे। खेलको ५९ औँ मिनेटमा जहरमान चेम्जोङले फ्री-किकमा गोल गरे ।

दिल कुमार याक्सोलाई डी एरिया नजिक शिखरका खेलाडीले लडाए पछि पाएको फ्री किकमा चेम्जोङले दाहिने कुना चेपेर हानेको प्रहार गोलमा परिणत भयो । शिखरका सौराज राउतले खेलको ७९ औँ मिनेटमा गोल गरेर खेलमा फर्कन प्रयास गरे पनि थप गोल हुन नसक्दा शिखर पराजित भयो ।

खेलको १७ औँ मिनेटमा शिखरका साइमन लिम्बुको कर्नर प्रहार लाई निरोज परियारले गरेको उत्कृष्ट हेडलाई सिरिजंगाका गोलकिपर अशोक खत्रीले बचाए ।

३५ औँ मिनेटमा सिरिजंगाका प्रताप चेम्जोङले दिएको पासलाई दिलकुमार याक्सोले गरेको हेड गोल हुन सकेन ।

५३ औँ मिनेटमा सिरिजंगाका दिल कुमारले वान भर्सेज वानमा गोल गर्न सकेनन्। मङ्गलवारको खेलको म्यान आफ दि म्याच सिरिजंगाका जहरमान चेम्जोङ घोषित भए । बुधबारको खेल वाइ जी एफ टी र टेन नबोदय बिच हुनेछ ।