पथरी  : मोरङको पथरीशनिश्चरे नगरपालिकाले भूमि समस्या समाधानका लागी  नगरका भित्रका दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ ।

छलफलमा नगर प्रमुख दिलीपकुमार राईले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गठित आयोगले अवलम्बन गरेका नीतिका बारेमा जानकारी दिए  ।

आयोगलाई सघाउन नगर र वडा तहमा सहजीकरण समिति समेत निर्माण भई कर्मचारी र कार्यालय व्यवस्थापनको काम अघि बढेको समेत नगर प्रमुख राईले जानकारी गराए । 

यस पटकको आयोग यस अघिका आयोगभन्दा अधिकार सम्पन्न रहेकाले समस्याको समाधान हुने कुरामा आयोगले विश्वस्त बनाएको राईको दाबी थियो ।

सहभागी दलका प्रतिनिधिहरूले दोहोरो स्वामित्वको समस्याका बारेमा आयोगका अधिकारीहरूसँग समेत आफूहरू बसेर छलफल गर्नुपर्ने बताएपछि नगर प्रमुख राईले आफूले आयोगका अधिकारीलाई छलफलमा बोलाउन पहल गर्ने बताए ।

नगरमा रहेका ७ वटा दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो । सरकारले भूमि स्वामित्व सम्बन्धी समस्या समाधान गर्न केन्द्रमा देवी ज्ञवालीलाई जिम्मा दिएको छ ।

ज्ञवालीको टोलीले हालै प्रदेश नम्बर १ का विभिन्न स्थानियतहका प्रमुख सँग छलफल गरी सहमति गरेका छ्न ।