धरान : सुनसरीको दुहबी नगरपालिका-९ मुसहरी टोलबाट गाँजा सहित मङ्गलवार दिउँसो १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय पुष्पलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

लागु औषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले कार्यालयले जनाएको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका १६ हुलास चोकबाट लागुऔषधको ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको केराबारी गाउँपालिका १० का २४ वर्षीय रबिन बिक र लेटाङ नगरपालिका-३ का २५ वर्षीय रितेश परियारलाई चेक जाँच गर्दा उनीहरूको साथबाट लागु औषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको छ ।

लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।