धरान : प्रदेश १ का बास्केटबल खेलाडी २८ वर्षीय प्रदीप गुरुङ विगत १ महिना देखि घाइते भएका छन् ।

इटहरी १९ निवासी खेलाडी प्रदीप लकडाउनका बेला सेल्फ ट्रेनिङ गर्ने क्रममा घाइते भएका थिए । घाइते प्रदिपको दाहिने घुँडामा लिगामेन्ट च्यातिएको छ । आराम,थेरापी र मसाज गरेर उनी निको हुन नसकेका उनलाई मेजर सर्जरी गरी लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने पुष १९ गते उनको शल्यक्रियाका मिति तय भएको छ । यस्तो अवस्थामा राज्यले उनलाई कुनै सहयोग गरेको छैन् ।

शल्यक्रियाको लागी करिब २ लाख ५० हजार खर्च हुने भएकाले धरान बास्केटबल सङ्घले आज पत्रकार सम्मेलन गर्दै खेलाडीको उपचार सहयोगार्थका लागि धरानमा पुस ८ गते बुधवार बिहान मैत्रीपूर्ण बास्केटबल खेल हुने जानकारी दिएको छ ।

धरान १८ स्थित डिपो उच्च माविको कोर्टमा हुने खेलमा धरान बास्केटबल टिम र झापा बास्केटबल टिम बिच खेल हुने बास्केटबलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङले जानकारी गराए । मैत्रीपूर्ण खेल धरान बास्केटबल सङ्घको आयोजना, नेपाल बास्केटबल लिग, डिपो उच्च माविको सहयोग तथा सुनसरी बास्केटबल सङ्घको सहकार्यमा हुने छ । उक्त खेलमा आर्थिक सहयोग स्वरूप रसिद समेत राखिने छ ।

बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटबल सङ्घका अध्यक्ष सुरज लामाले पत्रकार सम्मेलनमा बोल्दै भने “विभिन्न खेलकुद प्रतियोगिताका लागि सरकारले वार्षिक बजेट छुट्याएको हुन्छ ।” खेलको गतिविधिको मात्र तथ्याङ्क राख्ने गरेको छ, तर ,घाइते भएका खेलाडीको लागि स्वास्थ्य अवस्थामा सम्बन्धित निकायमा बेखवर भएकाले अगामी दिनमा यस्ता विषयका मुद्दाका पनि सम्बन्धित निकायमा खेलाडीका लागि सुरक्षा संरक्षणका निम्ति भैपरी आउने कोषहरू खडा गर्न पहल गर्ने उनले बताए ।

प्रदीप धरान १८ स्थित डिपो माविका पूर्व विद्यार्थी पनि हुन । ट्यालेन्ट हन्टबाट उपाधि जित्दै आएका उनी ७ औ ८ औ राष्ट्रिय खेलमा सहभागिता जनाउँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिएका थिए । जिल्ला च्याम्पियन समेत बनेका थिए प्रदीप ।

Pradip-Gurung