धरान : उदयपुरको धाप्लाङटारमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको एक कार्यकर्ता पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार ३२ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनी पूर्व माओवादी लडाकु पनि हुन् ।

सोमबार राति उद्योगका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको दाहालको भनाई छ । क्रसर उद्योगमा उनले सुतली बम विस्फोट गराएका थिए ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटर सहित पेट्रोलको ड्रममा क्षति हुँदा १ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको तीव्र खोजी गर्ने क्रम अहिले पनि जारी राखेको प्रहरीले जनाएको छ ।