विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुनर्स्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् ।

प्रदेश सरकारले सडकमा रहेका सबै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उनले बताए । सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भइरहेको मन्त्री घिमिरेले बताए । उनले भने,‘ धेरै बालबालिकाको उद्धार गरी पुनर्स्थापना गरिएको छ ।

’ सामाजिक विकास मन्त्रालय दीर्घकालीन पुनर्स्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च ९कोकन० ले बुधबार विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुनर्स्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।

सडकमा आश्रित बढी बालबालिका भएका जिल्लाहरूमा केन्द्रित गरेर काम सुरु गरिने उनले बताए । मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएका बालबालिकालाई विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताइन् । उनले १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरी १ करोड ३७ लाख बजेट पठाई सकिएको बताए ।

सुनसरीको बर्जू गाउँपालिकाका उपप्रमुख सङ्गीता राय, हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पुँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा दीर्घकालीन पुनर्स्थापना गृह व्यवस्थापन समिति अध्यक्ष खड्गबहादुर बस्नेत, इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, मानव अधिकार आयोग प्रदेश १ निमित्त प्रमुख गीता दाहाल, कोकन अध्यक्ष मञ्जिता उपाध्याय लगायतले बोलेका थिए ।