विराटनगर : विराटनगरका विद्यालयहरू आज देखि सञ्चालनमा आउने भएका छन् ।

८ महिनादेखि बन्द भएका विद्यालय आज देखि सञ्चालन गर्नेबारे महानगरले मङ्सिर २१ गते निर्णय गरेको थियो । विराटनगरका केही विद्यालय भने यसअघि देखि नै सञ्चालनमा आइसकेका छन् ।

महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधार समेत हेरि व्यवस्थापनमा सहजताका लागि विद्यालय सञ्चालन गर्न ७ बुँदे विकल्प दिएको छ ।

सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग समयमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय हेरि तत्ला कक्षाहरूलाई पहिले र माथिल्लो कक्षा पछि सुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोटाउने, पालैपालो कक्षा सञ्चालन गर्ने कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरि पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिन मात्र कक्षा सञ्चालन गर्ने लगायतका कार्यविधि बनाइएका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताए । उनका अनुसार विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सञ्चालन गरिने छ ।

विराटनगर महानगरपालिकाले विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन नसकेपछि स्थानीय रेडियो तथा टिभीबाट शिक्षण सिकाई तथा पाठ प्रसारण कार्यक्रम सञ्चालन गरेको थियो ।

निजी विद्यालयले पठन पाठन क्रियाकलाप सुरु भएका दिन देखि शुल्क लिने प्याब्सनका केन्द्रीय अध्यक्ष तथा एभरेस्ट बोर्डिङ स्कुल विराटनगरका प्रिन्सिपल टीकाराम पुरीले बताए । उनले शुल्कको विषय समाधान भइसकेको बताएका छन् ।

अभिभावकहरू विद्यालय बन्द भएको अवधिको शुल्क नतिर्ने बताउँदै आएका छन् । विद्यालय बन्दको अवधिको शुल्क विद्यालयले लिन नपाउने अभिभावक सङ्घ प्रदेश १ का संयोजक देवी पन्थीले बताए । मोरङका १७ स्थानीय तह मध्ये विराटनगर बाहेकका स्थानमा भने विद्यालयहरू सञ्चालन भइसकेका छन् ।