पथरी : मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे प्रीमियर लिगको बिहीबारको खेलमा द रियल ब्रदर विजयी भएको छ ।

देविगञ्ज एफसिलाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल ब्रदर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको अग्रता भने देबिगञ्जले लिएको थियो । खेलको १३ औँ मिनेटमा विजय लिम्बूले गोल गरे । सन्तोष न्यौपानेको प्रहारलाई अनमार्कमा रहेका लिम्बूले सुन्दर ढङ्गमा जाली चुमाएका थिए ।

खेलको २९ औँ मिनेटमा द रियल ब्रदरका सुजन खत्रीले गोल गरे । सबिन लिम्बूको प्रहारलाई गोल किपर मन कुमार मगरले नियन्त्रण लिन नसक्दा रिबाउड बललाई सुजन खत्रीले गोल गरे ।

खेलको ४७ औँ मिनेटमा रियलका देवराज गुरुङले गोल गरे । देबिगञ्जका ४ जना खेलाडीलाई छक्याएर गुरुङले गोल गरे ।

६४ औँ मिनेटमा देबिगन्जका कप्तान सन्तोष न्यौपानेको कर्नर प्रहारलाई दीपक राईले गोल गरे । इन्जुरी टाइमको अन्तिम मिनेटमा रियलका कप्तान तीर्थ राज बस्नेतले गोल गरे । विशाल पाण्डेको पासलाई बस्नेतले जाली चुमाए ।

बिहीबारको खेलको म्यान आफ दि म्याच रियलका तीर्थराज बस्नेत घोषित भए । शुक्रवारको खेल शिखर एफ सि र हेरिका न्यु स्टार बिच हुनेछ ।