धरान : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले शनिवार धरानमा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाइ नगद सहिद सम्मान गर्ने भएको छ ।

धरान-१२ स्थित अमान बजारमा पुस ४ गते शनिवार धरानका स्वर्ण पदक तथा रजत पदक प्राप्त गर्ने खेलाडीलाई र उनीहरू प्रशिक्षण गराउने प्रशिक्षकहरूलाई नगद सहिद सम्मान गर्ने भएको हो।

बिहीबार धरान–१२ अमान बजारस्थित नेपाली काँग्रेस, प्रदेश नं. १ ‘क’ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले धरानबाट १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक र रजत पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने जानकारी दिएको छ ।

कोभिड-१९ का कारण देशभर नै रगतको अभाव भएकोले उक्त कार्यक्रममा रगत दान नै जीवन दान आफू पनि गरौँ अरूलाई पनि गराऊ भन्ने उद्देश्य सहित रक्तदान कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

काँग्रेस नेता तथा विभागका सदस्य किशोर राईले उक्त कार्यक्रममा धरानका विभिन्न क्षेत्रमा योगदान पुर्याउने नर्स, कुचीकार सामाजिक संस्था, नेपाल रेडक्रस ,लागु औषध सञ्जीवनी केन्द्र, अवकाश पाएका प्रशिक्षक तथा समाजसेवी व्यक्तिहरूलाई पनि नगद तथा उपहार सहित सम्मान पनि गरिने बताए ।

अध्यक्ष राईले भने 'धरानमा खेलकुदको राम्रो वातावरण छ, यहाँ जुनसुकै मौसममा विभिन्न खेलहरू खेल्नका सकिन्छ, यहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू पनि छन् । त्यसैले धरानलाई खेलकुद सहर घोषणा गर्नु पर्छ ।' उनले थपे प्रशिक्षणबाट अवकाश पाएका प्रशिक्षकलाई पनि सङ्घ संस्थामा आबद्ध गराउनु पर्छ र स्वर्ण पदक तथा रजत पदक प्राप्त गर्ने खेलाडीको जिउँदो स्मारक बनाउनु पर्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहन बहादुर बस्नेतको प्रमुख अतिथिमा उक्त कार्यक्रम हुने छ ।